
काठमाडौं ः १०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठकमा अवरोध जनाएको छ । बैठकमा एमाले सांसदहरुले सुन प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए । तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । एमाले सांसदहरूको अवरोधपछि सभामुख देवराज घिमिरेले साउन १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै एमाले प्रमुख सचेतक पदम गिरीले अवैधरुपमा सुन आयात हुँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मूकदर्शक भएको भन्दै सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्ने बताए । रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुई पाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु)भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको हो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको बताइएको छ । सोही प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । त्यसैगरी नेपाली कांग्रेसले सांगठनिक सुदृढिकरणका लागि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । पार्टी केन्द्रिय कार्य समितिको निर्णयहरु सुनाउदै महामन्त्री विश्वप्रकाश शर्माले भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् । त्यसैगरी नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने जनाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीतिका भ्रष्टाचार अभियानमा कांग्रेसले सरकारलाई साथ दिने विश्वप्रकाश शर्माले बताए । यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए ।









