
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकणर्ेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए । वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरे । भ्रष्टाचार विरोधी अभियानको विपक्षमा आवाज उठाउनेबाट सरकारको यस अभियानलाई कुनै पनि हालतमा विश्राम दिन नसक्ने उनको भनाइ थियो । भ्रष्टाचार र कमिसनले जरा गाड्दा रानजीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताए । समृद्धिपछि मात्रै सामाजिक न्याय स्थापित गर्न सकिने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको उद्देश्य पूरा गर्न राजनीतिक दलका नेता कार्यकर्ताले सोच्नुपर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक दलका नेता कार्यकर्ता तथा राज्यका निकायले सहिदलाई सम्झेर आफूलाई सच्याउनुपर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पारेर त्यसको प्रतिफल आम नागरिकले सहजै प्राप्त गर्ने वातावरणको सिर्जना गर्नु राजनीतिक दलको दायित्व भएको बताए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजेको आशंका व्यक्त गरेका छन् । भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले सरकारको काम कारवाही ठूला मालिक देखेपछि त्यसलाई छाडेर अर्को फाइल खोल्नेतिर लागेको होकी भन्ने आशंका भएको बताएका हुन् । लामिछानेले सुन प्रकरणमा सरकारले व्यक्ति हेरेर अनुसन्धानलाई अन्त्यसम्म नपुर्याई अर्को फाइल खोल्ने तयारीमा लागेको हुन सक्ने भएकाले रास्वपाले खवरदारी गरिरहेको धारणा राखे । लामिछानेले अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलो व्यक्ति हुने आशंका रहेको पनि बताए । सभापति लामिछानेले रास्वपालाई बेला बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेको भन्दै जनताले दिएको मतको भारी बाहेक अरु कसैको भारी बोक्नुपर्ने आवश्यकता नरहेको जिकिर गरे । उनले वर्तमान सरकारले भ्रष्टाचारको फाइल खोल्दै छाड्दै गरेको आरोप लगाएका छन् । त्यसैगरी ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । महानगरका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखाना अवलोकनमा सहज बनाउन सटल बसको व्यवस्था गर्ने घोषणा गरेका हुन् । विश्व बाघ दिवसको अवसरमा भएको कार्यक्रममा उनले १४/१५ सिटको हुने बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्याइ, तेहेर्याइ हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताएका छन् । मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।









