
काठमाडौं । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास २५ गते बिहीबार पुगेका हुन् । भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भेटवार्ता भएको जनाएको छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक्त सम्बोधन गर्दै उनले छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको जिम्मेवारीमा ढिलाइ गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जिम्मेवारी पूरा नगर्नेलाई कारबाही गरिने बताएका छन् । प्रधानमन्त्री दाहालले मासिकरूपमा हासिल गरेको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्डका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिने बताए । आयोजना कार्यान्वयनमा नेतृत्वको ठूलो भूमिका रहेको र कार्यान्वयनमा उत्पन्न हुने बाधा अड्चन फुकाउने र अन्तरनिकाय समन्वयको दायित्व पनि मूलतः नेतृत्वको नै भएको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले मन्त्री, सचिव तथा विभागीय प्रमुख र आयोजना प्रमुखलाई आफू मातहतका आयोजना तोकिएको समयमै सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश गरेका छन् । उनले पूर्वतयारीबिनाका आयोजनामा रकम विनियोजन गरिहाल्ने, निणर्य प्रक्रियामा जोखिम लिन नचाहने र कानुनी झन्झट देखाउने, टेबुलटेबुलको शासन गर्न रमाउने तथा अन्तरसमन्वय गर्न नरुचाउने शासकीय प्रवृत्तिमा तत्काल सुधार गर्नसमेत निर्देशन दिएका छन् । विकास निर्माणको काममा समयमै निणर्य नगर्ने र अन्तरनिकाय समन्वय गर्नुपर्ने विषयमा आवश्यक तदारुकता नलिने प्रवृत्ति नै अहिलेको मुख्य चुनौतीका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस प्रणालीलाई अन्त्य गर्नैपर्नेमा जोड दिएका छन् । प्रचलित ऐन, नियमको परिधिभित्र रही निणर्य गर्न कसैले पनि हिचकिचाउन नहुनेमा जोड दिँदै उनले सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निणर्यको बचावट र कर्मचारीको संरक्षण गर्न आफू सदैव प्रतिबद्ध रहेको जिकिर गरे । आफ्नो नेतृत्वमा गठित सरकारले अर्थतन्त्रको पुनरुत्थान, सार्वजनिक सेवा प्रवाहमा सुधार, सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखी आफ्ना सम्पूणर् शक्ति र सामथ्र्यलाई देश र जनताको हितमा परिचालन गर्न जोड दिँदै आएको उनको भनाइ छ । त्यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयपरिस्थीति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं प्रदेश १ ख र वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले कांग्रेस पुरानो पार्टी भएकाले इतिहासको मात्रै कुरा गरेर नपुग्ने भन्दै समयपरिस्थीति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका हुन् । उनले जनताको गुमेको अधिकार फिर्ता ल्याएर कांग्रेसले परिवर्तनको नेतृत्व गरेकाले जनताले अनुभूति हुने गरि प्रचार प्रसार गर्नुपर्ने धारणा राखे । नेता सिंहले कांग्रेसका गतिविधि निकै खर्चिलो हुन थालेको भन्दै यसमा पनि सुधार गर्नुपर्ने बताए ।









