
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढीरहेको जिकिर गरे । उनले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताएका छन् । नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको उनको भनाइ थियो । उनले आइटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन आग्रह गरेका छन् । मन्त्री महतले नेपालको अहिलेको चुनौति भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताएका छन् । त्यसैगरी सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् । नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको तर्क गरेका छन् । उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने पनि बताएका छन् । नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुनेमा जोड दिएका छन् । नेता कोइरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले चीन र बंगलादेशसँग विद्युतीय व्यापारको सम्झौता हुने बताएका छन् । दुई देशबीचको मित्रताको आधारमा विद्युतको उत्पादन बढाएर व्यापार गर्न लागेको उनले बताएका छन् । यसबारे दुई देशबीच सकारात्मक कुराकानी भएको बताउँदै उनले सहमति पत्रमा हस्ताक्षर हुने बताएका छन् । युवा दिवसको अवसर पारेर भरतपुर महानगरपालिकाले पटिहानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भारतको बाटो हुँदै बंगलादेशमा विद्युत बिक्री गर्ने विषयमा सहमति भएको बताएका छन् । उनले काठमाडौंमा विशेष समारोहबीच हस्ताक्षर हुने बताएका छन् । बुढी गण्डकी र कणर्ाली चिसापानीलाई जलविद्युत आयोजना अघि बढाउन ठोस पहल भएको उनको भनाइ छ । विद्युतको व्यापारबाट अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने दाबी गर्दै उनले विद्युत उत्पादन बढाएर त्यसको व्यापारले नेपालको अर्थतन्त्रमा परिवर्तन ल्याउन गेम चेनन्जर ल्याउन लागेको बताएका छन् । रसुवा नाकामा क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताउँदै अबको भ्रमणमा चीनसँग दुई देशीय हस्ताक्षर हुने उनले बताएका छन् । उनले भारतसँग जस्तै रसुवा नाकाबाट क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताएका छन् । उक्त सम्झौता चीन भ्रमणको क्रममा हस्ताक्षर हुने उनले बताए । कणर्ाली चिसापानी र बुढीगण्डकी लगायतका ठूला परियोजनाहरूको निर्माण सरकारको प्राथमिकतामा रहेको उनले जानकारी गराए । उनले अन्तर्राष्ट्रिय सम्बन्धको सहकार्यमा नेपालमा व्यापार बढाउन लागेको बताएका छन् । चीनसँग कृषिमा क्रान्ति कसरी ल्याउने भन्नेमा आफू केन्द्रित रहेको उनले बताएका छन् ।









