
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार सम्बन्धित सबै फाइलहरु खोल्ने तयारीमा सरकार रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरीमा सरुवा बढुवाको क्रममा हुने अवाञ्छित कार्यलाई आफ्नो कार्यकालमा शून्यमा झारिएको दाबी गरे । प्रहरीमा सरुवा बढुवा गर्दा, पदस्थापन गर्दा केही अवाञ्छित क्रियाकलाप हुने गरेको र आर्थिक चलखेल हुने गरेको भन्दै त्यसलाई रोकिने बताए । नक्कली भुटानी शरणार्थी बनाउने कार्यलाई राज्य विरुद्धको अपराध भएको श्रेष्ठको भनाइ छ । पत्रकार सम्मेलनमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सुन प्रकरणमा राजस्व विभाग र सिआइबीले नै अनुसन्धान गर्ने जिकिर गरेका छन् । गौर हत्याकाण्डको बारेमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा श्रेष्ठले उक्त हत्याकाण्डको विषयमा कानुनी शासनको उल्लंघन भएको कुरा सत्य नभएको दाबी गरे । उनले ललिता निवासको सबै जग्गा सरकारको भएको बताउँदै जग्गा किनबेच गर्नेले संगठित अपराध गरेको हो कि होइन भन्ने विषयमा समेत छानबिन भइरहेको जानकारी दिएका छन् । त्यसैगरी प्रतिनिधिसभाका ९ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापति चयनका लागि परेको उम्मेद्वारीबाट ९ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका हुन् । दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ । साथै कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ । यस्तै पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको छ । समितिको सभापति चयनका लागि भाद्र ११ गते सोमबार निर्वाचन राखिएको छ । त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको बताएका छन् । देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सद्भाव बिथोल्न खोजिएको उनको भनाइ छ । धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको बताएका छन् ।









