
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै दोषिमाथि कडा कारबाहीको माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ । रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।’ त्यसैगरी उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई अन्तिम रुप दिने दावी गरेका छन् । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई माडीमा सम्बोधन गर्दै उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने जिकिर गरेका छन् । सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गरेका छन् । उनले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाएका छन् । सुन तस्करी, ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले जरैसम्म अनुसन्धान गर्ने र त्यसको परिणाम केही दिनैमा आउने दावी समेत गरेका छन् । देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताएका छन् । त्यसैगरी स्वतन्त्र राष्ट्रिय पार्टीका सभापति रवि लामिछानेले एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेलमा ऐतिहासिक क्षणको प्रत्यक्ष साक्षी बन्न पाएकोमा गर्व महसुस भएको बताएका छन् । एसिया कप हेरेर श्रीलंकाबाट फर्कने क्रममा त्रिभूवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले नेपालका खेलाडीले विषम् परिस्थिति र सीमित स्रोत साधनका वाबजुद उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले नेपालमा क्रिकेटको सम्भावना अथाहा भएको पनि बताए । उनले क्रिकेटको विकासका लागि आवश्यक पर्ने नीति निर्माण तहमा आफूहरु पुगेको भन्दै यसबारे संसदमा समेत आवाज उठाउने बताएका छन् ।









