
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताएका छन् । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो । देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताएका छन् । सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने जिकीर गरेका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयसम्म शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्नु दुःखद् रहे पनि त्यसलाई निष्कर्षमा पुर्याउनै पर्नेमा जोड दिएका छन् । शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन सम्पन्न भएको जानकारी दिदै उनले एक हिसाबले पूणर्ता पाएको भए पनि केही काम अझै बाँकी भएकाले त्यसलाई पनि छिट्टै पूणर्ता दिनुपर्ने उल्लेख गरेका छन । प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भ्रमणका क्रममा नेपाली विशेषतासहित शान्ति प्रक्रिया अगाडि बढाइरहेको विश्व समुदायलाई जानकारी गराउने उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री दाहालले नेपाली मौलिक विशेषतासहितको शान्ति प्रक्रियाका बारेमा जानकारी गराउने स्पष्ट गर्दै यसलाई थप निष्कर्षमा पुर्याउनका लागि विश्व समुदायलाई अपिल गर्नुहुने बताएका छन् । जलवायु परिवर्तनका कारण विश्वव्यापीरूपमा परेको प्रभाव तथा नेपालले भोग्नुपरेको समस्याका कारणसमेत प्रधानमन्त्रीले महासभामा विश्व समुदायको ध्यानाकर्षण गराउने उनले जानकारी दिएका छन् । यस्तै अल्पविकसित देशहरूको अध्यक्षको हैसियतले प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएपछि प्रधानमन्त्री एवं अध्यक्ष दाहाल त्यतैबाट चीन भ्रमणमा जान लाग्नुभएको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसलाई समयको चापका कारण स्वाभाविकरूपमा लिन आग्रह गरेका छन् । चीन भ्रमणको क्रममा द्विपक्षीय सम्बन्ध विस्तार एवं विकास निर्माणलाई अगाडि बढाउने गरी प्रधानमन्त्री दाहालले आवश्यक तयारी गर्नुभएको स्पष्ट पारेका छन् । पार्टीले अगाडि बढाएको देशव्यापी रुपान्तरण अभियानले नयाँ उत्साह पैदा गरेको उनको भनाइ थियो । त्यसैगरी नेकपा (एमाले)का महासचिव शकंर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताएका छन् । नेम्वाङप्रति देखिएको सद्भाव र उनको अवसानपछि देखिएको सहानुभूतिले उनले सार्थक जीवन बिताएको महासचिव पोखरेलले बताएका छन् । संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूणर् योगदान पुर्याएको उनले बताएका छन् ।









