
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटना सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तगर्तको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले विभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निणर्य गर्ने विषयमा छलफल भइरहेको बताएका हुन् । बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुर्याउने काम भइरहको भन्दै उनले यस विषयमा सरकारले आवश्यक निणर्य गर्ने जानकारी दिए । उनले धार्मिक संगठनको बैठक बोलाएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै बैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्धत रहेको बताएका छन् । त्यस्तै उनले सुन तस्करी लगायतका भ्रष्टाचारका प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । गृहमन्त्री श्रेष्ठले असम्बन्धित विषयमा पनि समितिमा आफूलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । त्यसअघि बैठकमा समिति सदस्यहरूले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै विभिन्न प्रकरणको अनुसन्धानका विषयमा सरकारको ध्यनाकर्षण गराएका थिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताएका छन् । उनले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरेका छन् । उनले शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनि आशंका व्यक्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको आरोप पनि लगाए ।









