
काठमाडौं । सांसद मनिष झा स्पष्ट र तर्कपूणर् ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रूपमा परिचित छन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट समानुपातिक सांसद बन्नुभएका झा हालको सदनका कतिपय अभ्याससँग विमति राख्छन् । उनी सदनलाई प्रभावकारी बनाउन भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँका रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्छन् । संवादको क्रममा सांसद झा सदनमार्फत सार्वजनिक महत्वका विषयमा जनतालाई सुनाउन मात्रै बोल्नेभन्दा पनि नीतिगत तहमा कसरी प्रभाव पार्ने भन्ने उद्देश्य लिएर अभ्यास गर्नुपर्ने भनाइ राख्छन् । उनी सदनमा केही सांसदले भाषण गर्दा ‘असीमित समय’ पाउने अभ्यासप्रति पनि असहमत छन् । सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका सांसद झाले समितिको असल अभ्यास सदनमा समेत लागू गर्नुपर्ने उनले बताएका छन् । उनले जनताको चाहना र भावनाले संसदमा स्थान नपाएको गुनासो पनि गरेका छन् । त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नैपर्छ भन्ने नरहेको बताएका हुन् । दातृ निकाय र विकास साझेदारहरूले मौद्रिक नीतिमा हस्तक्षेप गरेको र नेपालको परिवेश नसुहाउने व्यवस्था जबर्जस्ती लागू गर्न खोजेको भन्ने आरोप निजी क्षेत्रले लगाउँदै आएको छ । चालु पुँजी कर्जा मार्गदर्शनलगायत व्यवस्थामा आईएमएफ हाबी भएको निजी क्षेत्रको बुझाइ छ । तर अर्थमन्त्री महतले भने कुनै पनि निणर्य नेपालको अवस्था र प्रकृति सुहाउँदो हुने भएकाले दातृ निकायले दिने सबै सुझाव र सर्त कार्यान्वयन गर्नैपर्छ भन्ने बाध्यता नरहने स्पष्ट पारेका छन् । अर्थतन्त्री महतले नेपालको अर्थतन्त्रलाई गति दिने विषयमा थप कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसुस भएमा सरकारले त्यसको निणर्य लिनसक्ने पनि बताएका छन् । अर्थतन्त्रमा अहिले देखिएको समस्या तत्काल देखिएको नभई लामो समयदेखिका समस्या थपिँदै गएर यस्तो अवस्थामा पुगेको अर्थमन्त्री महतको भनाइ छ । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री बद्री पाण्डेले रुपान्तरित कांग्रेस र आधुनिक कांग्रेस बनाउनु पर्ने आजको आवश्यक्ता रहेको बताएका छन् । जनताको चाहना अनुरुप पार्टीलाई परिमार्जित गर्दै जानुपर्ने उनले बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सह-महामन्त्री पाण्डेले २०१५ सालदेखि अहिलेसम्म एउटै पद्धतिमा कांग्रेस हिंडिरहेको भन्दै त्यसलाई बदल्न आवश्यक रहेको बताएका छन् । सरकारले औसत काम गरिरहेको भन्दै उनले अझै उर्जाशील भएर काम गर्नुपर्ने बताएका छन् । हजारौं युवाहरु पलायन भएकोले त्यो निराशाजनक अवस्थाबाट बाहिर निकाल्नुपर्ने दायित्व सरकारको भएको उनको भनाइ थियो ।









