
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीन गएका छन् । मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुने भएको छ । सो कार्यक्रममा श्रेष्ठले “कि नोट स्पिच” दिने भएका छन् । सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए । उपप्रधानमन्त्री श्रेष्ठ र उनीबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुने भएको छ । सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुनेछन । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने भनिएको छ । त्यसैगरी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताएका छन् । अध्यक्ष ओलीले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव केही नरहेको जिकिर गरेका छन् । त्यसैगरी नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । पारिवारिक भेटघाटका क्रममा चितवन गएका उनले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताएका छन् । अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिएका छन् ।









