
काठमाडौं । संसदीय समितिले जाजरकोट सहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सभामुख देवराज घिमिरेलाई बुझाएको सो क्षेत्रको भूकम्प सम्बन्धी स्थलगत प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । प्रतिवेदनमा तिहार लगत्तै अस्थायी आवास निर्माण गरी पीडितलाई तत्काल उपलब्ध गराउन सरकारलाई सचेत गराउने कुरा उल्लेख गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । समितिले मृतकका सबै परिवारलाई राहत दिने काममा पनि ढिलाइ नगर्न सरकारलाई भनेको छ । प्रधानमन्त्रीलाई भेटेर आफूहरूले मृतकका आफन्तलाई तत्काल राहतको व्यवस्था गर्न पनि आग्रह गरिएको समितिका सभापति खतिवडाले बताए । समितिले स्थानीय सरकार आत्तिएकाले राहत, उद्धार र पुनस्र्थापनाको गर्न सहज ढंगले गर्न नसक्ने अवस्था रहेको पाइएको निष्कर्ष पनि निकालेको छ । त्यसैगरी सल्यान, दैलेख, कालिकोट, हुम्ला, सुर्खेतमा पनि भूकम्पको असर परेकाले त्यतातिर पनि ध्यान दिन समितिले सरकारलाई भनेको छ । प्रतिवेदनमा अबको ६ महिना भित्र पीडितका लागि भूकम्प प्रतिरोधी आवास बनाउने काम सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । समितिले त्यस क्रममा प्रदेश सरकार, प्रदेश संसदका पदाधिकारीहरूसँग पनि छलफल गरी पीडितलाई आवश्यक राहतको व्यवस्था गर्न आग्रह गरेको थियो । यता, समितिको प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले समितिले पीडाका बेला संसदले पनि केही गर्न सक्दो रहेछ भन्ने सन्देश दिएको उल्लेख गर्दै स्थलगत अनुगमन गएका समितिका सांसदहरूलाई धन्यवाद व्यक्त गरेका थिए । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् । काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको जिकिर गरेका छन् । नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताए । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट पनि नयाँ आन्दोलनको सुरू गरिसकेको बताएका छन् । पार्टीको विशेष रूपान्तरण अभियानअन्तर्गत कीर्तिपुरको कार्यक्रममा बोल्दै आन्दोलनको सुरू गरिसकेकाले अझै अगाडि बढाउने धारणा राखेका हुन् । उनले कति दिन प्रधानमन्त्री रहन्छु भन्नेमा आफू चिन्तित नभएको स्पष्ट पारे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको आरोप लगाए । उनले जनताको भरोसा र विश्वास जित्न सकिन्छ कि सकिँदैन त्यसतर्फ सोच्न कार्यकर्तालाई आग्रह गरे । उनले पदमा बस्नेभन्दा नागरिकलाई सुशासन र समृद्धि दिने विषय आफ्नो लागि ठूलो कुरा भएको धारणा राखे ।









