
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूणर् पालना नगर्दा नागरिकहरु निराश भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनावमा दलहरुले जारी गरेका घोषणापत्र र उम्मेदवारहरुले गरेको प्रतिवद्धताहरु पूरा नहुँदा नागरिकहरु राजनीतिप्रति असन्तुष्ट रहेको बताएका छन् । चुनावताका बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको उनको भनाइ थियो । उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिइ कामकारबाही गर्न आवश्यक रहेको पनि बताएका छन् । त्यसैगरी नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूणर् तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ । काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै रहेको र आफू अनुकूललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई विशेष ख्याल गर्दै न्यायापूणर् तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो । यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निणर्यसमेत सो समूहको भेलाले गरेको छ । भेलामा राष्ट्रियसभा निर्वाचनलगायत पार्टीको आन्तरिक विषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताएका छन् । उनले देश र कांग्रेस ठीक ढंगले चल्न नसकेकोमा आफूहरूको ध्यान केन्द्रित रहेको बताएका छन् । कोइरालाले आफ्नो समूह ठीक ढंगले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको पनि दाबी गरेका छन् । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सिप र तालिम आवश्यक रहेको बताएका छन् । झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूणर्मा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । त्यस्तै नेकपा एमालेको सरकारले छोट समयमा पनि पर्याप्त काम गरेको ओलीले स्मरण गराए । एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको उनले बताएका छन् । देश विकासको काम अहिले ठप्प रहेको ओलीको भनाइ छ । यस्तो स्थितिलाई बदल्नको लागि एमालेको एकल सरकार नभई हुँदैन, त्यसकै लागि मिसन २०८४ भनिएको उनले बताएका छन् । देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने ओलीले दाबी गरेका छन् ।









