
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताएका छन् । हस्तकला दिवसको अवसरमा आयोजित यस २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूणर् निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको बताएका छन् । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकिने पनि उनले बताएका छन् । राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विभिन्न जातजातिको पुख्र्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भएकोले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन् । त्यसैगरी नक्कली भुटानी शणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा छुटेका छन् । उच्च अदालत पाटनले खाँणलाई धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका हुन् । न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई धरौटीमा छोड्न आदेश दिएको हो । यसअघि न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न राय दिएका थिए । सोही रायलाई सदर गर्दै न्यायाधीश कोइरालाको एकल इजलासले धरौटीमा छोड्ने आदेश दिएको अदालतका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिएका छन् । मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र पाण्डेको संयुक्त इजलासमा खाँणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने विषयमा राय बाझिएको थियो । उक्त विवादको टुंगो तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने निणर्य भएको थियो । तर, अर्का न्यायाधीश खरेलले खाँण निर्दोष रहेको विश्वास गर्न मिल्ने मनासिव आधार नभएको उल्लेख गर्दै फरक राय पेस गरेका थिए । न्यायाधीशबीचको राय बाँझिएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा खाँणको निवेदनमाथि सुनुवाइ भएको हो । त्यसैगरी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन् । संकल्प यात्राका क्रममा भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । अध्यक्ष ओलीले सत्तामा रहेका काँग्रेसका नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरेका छन् । उनले काँग्रेसका नेताहरू अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरेका छन् । अध्यक्ष ओलीले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताएका छन् ।









