
काठमाडौँ । दुईजना युवकको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त निर्देशन दिएका हुन् । उक्त घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको उक्त निर्देशनपछि सोमबार उक्त उच्चस्तरीय आयोग बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार प्रस्तुत गर्दा पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको छ । साथै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि सत्तारूढ गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पु¥याइ द्वन्द्वप्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्षसहित यस प्रक्रियामा संलग्न सबैसँग साझा सहमतिको लागि अपिल गरेको बताएका छन् । त्यसैगरी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीभित्र गुटका नाममा आफैंमा बाझ्ने काम नगर्न नेताहरूलाई अनुरोध गरेकी छन् । केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेताहरू आफैंमा बाझ्दा पार्टीलाई क्षति भइरहेको बताइन् । प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएको विवादतर्फ संकेत गर्दै केन्द्रीय सदस्य देउवाले भनिन्, ‘हामी पटक–पटक जनतामाझ गएर विभिन्न कार्यक्रम गरिरहेका छौं । कहिले कहिले कार्यक्रम गर्दा अफ्ठ्यारो पर्न आएको सुन्नमा आयो । तर यो घरभित्रकै अफ्ठ्यारो भएकाले बसेर सुल्झाउन सकिन्छ । जति पनि पार्टीका सिनियर नेताहरू हुनुहुन्छ, हाम्रो लागि एकदमै महत्वपूर्ण हुनुहुन्छ ।’









