
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगको टोली राष्ट्रपति भवन पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचन अनुकुल समयमा नै सफलताका साथ सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् । राष्ट्रपति पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्ने काम निर्वाचन आयोगको भएकोले संविधान तथा संघीय कानून बमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि आयोग सदा तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् । प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकोमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा भई ५ राजनीतिक दलका १९ जना उम्मेदवार निर्वाचित भएको विवरण प्रस्तुत गरिएको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कूलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवा सरल, सहज हुनुपर्ने बताउँदै सेवा आम नागरिकको पहुँचयोग्य, उच्चतम प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले दूरदराजसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार हुनेगरी पूर्वाधार निर्माण, जनशक्ति उत्पादन, सेवा प्रवाह र गुणस्तर अभिवृद्धिमा जोड दिन आग्रह गरेका छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् । आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्याउनुपर्नेमा जोड दिएका छन् । यसैबीच सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् । काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्था बिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले गठबन्धन दलहरुले तयार पारेका न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिएका छन् । अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराएका छन् ।









