
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन् । काठमाडौँमा ‘संसदमा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताएका छन् । ओलीले देश भावनाले चल्ने विषय नभएको बताएका छन् । माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उनले बताएका छन् । माओवादीले गलत गरेको कारण जनताले उसको साथ छाडेको ओलीको भनाइ छ । ओलीले राजनीति लोकतन्त्रका लागि चाहिने र लोकतन्त्र देश विकास, जनताको हितका लागि आवश्यक रहेको बताएका छन् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने उनले स्पष्ट पारेका छन् । ओलीले आफू सम्पूणर् रूपमा देश, जनता र लोकतन्त्र प्रति समर्पित भएको बताएका छन् । लोकतन्त्र स्वतन्त्रता मात्र नभएर आर्थिक, सामाजिक परिवर्तनको पक्ष पनि भएको उनले बताएका छन् । राजनीति आर्थिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित नभई लोकतन्त्र अघि नबढ्ने ओलीले भनाई थियो । आफूले संसदमा बोल्दा देश प्रति र जनता प्रतिको निष्ठाका साथ बोल्ने गरेको ओलीले बताएका छन् । आफूले संसदमा केही कुरामा असावधानी भएको भए पनि ठिक बिचारका साथ बोलेको उनको जिकीर थियो । आफूले निष्ठाका साथ राजनीति गरेको उनले दाबी गरेका छन् । आफ्नो राजनीति जनता र सुशासन प्रति निष्ठाको धारमा अघि बढेको ओलीले बताएका छन् । देश र जनताका हितका निम्ति नै आफूले काम गरेको उनले प्रस्ट पारेका छन् । त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सोही कार्यक्रममा बोल्दै वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामथ्र्य नरहेको बताएका छन् । महासचिव पोखरेलले वर्तमान सरकारको लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको समेत जिकीर गरेका छन् । ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको उनको भनाइ थियो । महासचिव पोखरेलले ओलीले भारतसँग महाकाली सन्धिबारे पुनरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसदमा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रस्ताव राखेको तथ्य पनि स्मरण गराएका छन् । ओलीले बोलेका कुरालाई काममा उतार्ने नेताको रुपमा आफूलाई बलियोसँग उभ्याएको समेत महासचिव पोखरेलले जिकिर गरेका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठितरूपमा आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र भएको बताएका छन् । रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र विभिन्न शक्तिहरूले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र गरेको बताएका छन् । उनले आफूले जनताका अगाडि शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षड्यन्त्र सफल नहुने बताएका छन् । उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पीडितको समस्या समाधान भइसक्ने भए पनि आफ्नो पछाडिमात्रै लाग्ने काम भएको तर्क गरेका छन् । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उद्देश्यका साथ पार्टी अघि बढेको बताएका छन् । लामिछानेले देश बनाउने मुद्दामा दलहरूका नेताहरूबीच मतभेद भए पनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरू एक हुने गरेको आरोप लगाएका छन् ।









