
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ । आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो । ‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने’, आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको जनाएको छ । कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदय शमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ । यस्तै स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा, प्रदेश समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर कांग्रेसका सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभई मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले पछिल्लो समय सबै उपसमितिलाई पूर्णता दिएर काम सुरु गरिसकेको बताइएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले पार्टीले गठन गरेका विभिन्न उपसमितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिएको छ । कांग्रेसले फागन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रम स्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रममा सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ शिविर सञ्चालन गर्ने भएको छ । यसैबीच प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालद्वारा विधान परिमार्जनसहित पारित भएको छ । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो । अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउनका लागि महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । विधान अधिवेशन लगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष दाहालले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताएका छन् । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्षले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहहरूबाट सुझाव सङ्कलन गरिएको थियो ।









