
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन् । मोतीदेवी स्मृति केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनी प्रश्न समेत गरेका छन् । ३३ प्रतिशत महिलाहरु संसद् र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको उनले तर्क गरेका छन् । ओलीले जनताको अवस्थालाई पूणर् रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा रहेको बताएका छन् । अध्यक्ष ओलीले महिलाहरुलाई सशक्तीकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत जिकिर गरेका छन् । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निणर्य गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निणर्य गरेको हो । बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने निणर्य गरेको पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिएका छन् । कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने अहिले निणर्य नलिइसकेको उनको भनाइ छ । बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निणर्य गरेको पनि नेता केसीले बताएका छन् । बैठकमा बदलिँदो परिस्थिति र नयाँ गठबन्धनपछिका बारेमा छलफल भएको बताइएको छ । संसदमा पार्टीका तर्फबाट निर्वाह हुने भूमिकाबारे समेत बैठकमा छलफल भएको नेता केसीले बताएका छन् । त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले नगर्ने स्पष्ट पारेका छन् । नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो सभा उद्घाटन गर्दै शर्माले प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरे पनि अहिलेको सरकारलाई लामो समय चल्न दिनुपर्ने भन्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम कांग्रेसले नगर्ने स्पष्ट पारेका छन् । उनले कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुलाई एक वर्ष काम गर्न दिएर समिक्षा गर्ने तयारी गरे पनि प्रधानमन्त्रीले हतारो गरेको बताएका छन् । शर्माले जनताको चाहना र भावना अनुसारको मुद्दा लिएर कांग्रेसले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन् । कांग्रेस र एमालेलाई माओवादीले पटक पटक धोका दिएको भन्दै उनले धोका दिएकाहरु एक ठाँउ आए बाँकी व्यवस्था आफैं हुँदै जाने जिकिर गरेका छन् । त्यस्तै शर्माले अहिले भएको गठबन्धन परिवर्तनको कदमले जनतामा नकारात्मक सन्देश गएको पनि बताएका छन् ।









