
काठमाडौं । सरकारले भूकम्पले क्षति पुगेका विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम दिने भएको छ । भूकम्पबाट क्षति गरेको शैक्षिक संस्थाका भवन पुनः निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट रकम निकासा गर्न लागिएको हो । अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलपछि रकम दिन सहमति भएको हो । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम र बझाङमा गरी ७ सय बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका-१ लामिडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिको राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण तीन जिल्लामा पूणर् र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका थिए । त्यस्तै सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई न्याय दिलाएको छ । न्यायधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले निणर्य सुनाउँदै प्रसाइलाई मेडिकल कलेज सम्बंधन दिन सरकारलाई आदेश दिएको छ । बीएण्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसअनुसार उक्त आदेश दिइएको हो । मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए । यसैबीच नेकपा एमालेको तर्फबाट इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङले इलामको सेवा गर्ने संकल्पसहित आफू उभिएको बताएका छन् । सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सुहाङले आफूलाई उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै इलामको सेवा गर्ने संकल्प सहित आफू उभिएको बताएका हुन् । उनले लेखेका छन्, ’केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ ।’ नेम्वाङले आफ्ना बुवा सुवास नेम्वाङप्रति इलामेली जनताको आशा, भरोसा र विश्वासका कारण आफूले पनि राजनीतिलाई पछ्याएको बताएका छन् । त्यस्तै उनले लेखेका छन्, ’बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन र भनियो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’ त्यसैले म उम्मेदवारको लागि तयार भएँ ।’ अझै केही वर्ष ‘लो प्रोफाइल’मा बसेर बुवाकै साथमा रहेर सिक्ने, बुझ्ने रहर भए पनि अकल्पनीय आकस्मिकता आइलागेको पनि उनले बताएका छन् । ‘मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नुभएको सपना र गर्नुभएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु’ उनले लेखेका छन्, ’म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो ।’ उनले आफू उम्मेदवार बन्दै गर्दा पार्टीको विकास, विस्तार र आन्दोलनमा लागेका नेताहरूको भावनालाई शिरमा राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।









