
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा भएको भेटमा उनीहरुबीच विद्युत व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल–बङ्गालादेशबीच हुने विद्युत व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरेका छन् । आगामी दिनमा विद्युत व्यापार क्षेत्रीयस्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकोप्रति खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाल र बङ्गालादेश दुवैले जलवायु परिवर्तन असर व्यहोर्नु परेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । बङ्गालादेशका मन्त्री चौधरीले नेपाल–बङ्गदादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै छिट्टै ऊर्जा व्यापार भएर दुवै देशले लाभ लिन सक्ने अवस्थामा पुगेको बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई नेपाल–बङ्गलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी समेत गराएका छन् । त्यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् । राउतले सामाजिक संजालमा टिप्पणी गर्दै यो प्रतिशोधपूर्ण रहेको बताएका छन् । ‘कसैलाई पनि भन्नु पर्छ र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो । रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्’ उनले सामाजिक संजालमा भनेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कको सहकार्यमा सुरु गरेको “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गर्दै मन्त्री चौधरीले त्यस्तो बताइन् । मन्त्रालयले महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग, समुदायका व्यक्तिलाई समेट्नुपर्ने मन्त्री चौधरीको भनाइ छ । यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग, तराई–पहाड फास्ट ट्र¥याकले छुने पालिकाहरू, सिमाना क्षेत्रका वर्ग, समुदायका उत्पीडित, सीमान्तकृत महिलाहरूलाई कार्यक्रम लक्षित गर्नुपर्ने उनले बताइन् । परियोजनाले महिलाको सुरक्षा, सुरक्षित आवास, सेल्टर, अस्पतालहरूमा उपचार लगायतको विषय समेटिएको भन्दै उनले अझै पनि महिला हिंसाका घटनाहरूमा तत्काल रेस्पोन्स गर्ने खालको कार्यक्रमहरू अझ बढी आउन आवश्यक रहेको उल्लेख गरिन् । विकास साझेदार संस्थाहरूलाई आग्रह गर्दै मन्त्री चौधरीले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण जस्ता घटनाहरूमा बढी संवेदनशील भएर काम गर्न आग्रह गरिन् । विभिन्न प्रलोभनमा पारेर लैङ्गिक हिंसा हुने गरेको भन्दै उहाँले त्यसलाई न्यूनीकरण हुनेगरी काम गर्न पनि आग्रह गरिन् । त्यस्तै गरिबीको रेखामुनि रहेका व्यक्तिको आर्थिक अवस्था माथि उठाउने काम गर्न आग्रह गर्दै उनले परियोजना गएका पालिकाहरूमा महिला हिंसा शून्य पार्ने गरी काम गर्न आग्रह गरिन् ।









