
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएर ल्याएको दाबी गरेका छन् । राष्ट्रिय सभामा विनियोजन विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो दाबी गरेका हुन् । उनले सरकारले बजेट पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी, जनताका अहिलेका आवश्यकता, निजी क्षेत्रको मनोबल उकासने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खोज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पारेका छन् । उनले बजेट ठूला र प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोपलाई चिर्दै अहिलेको बजेटले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको उल्लेख गरेका छन् । अर्थमन्त्री पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औं योजनाले परिलक्षित गरेका उद्देश्यहरु समेत क्रमशः पूरा हुने विश्वास रहेको बताएका छन् । पुनले बजेट र करका नीतिहरुले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवद्र्धन गर्ने कोशिस गरेको जानकारी दिएका छन् । उनले यसले बैंकमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने उल्लेख गरेका छन् । सरकारले ल्याएको बजेट अनुसारको मौद्रिक नीति आउने भएकाले मुलुकको कुल आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको दाबी गरेका छन् । यसैबीच प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न माग गरेका छन् । बैठकमा नेपाल कम्युनिष्ट (एमाले) का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन गर्न माग गरेका छन् । सोही दलका मानवीर राईले सोलुखुम्बुमा बाढी, पहिरो र हिमपहिरोको जोखिम भएकाले रोकथामको पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई आग्रह गरेका छन् । नेकपा एमालेकै मनबहादुर गुरुङले हुरी र वर्षाबाट कास्कीको रुपा गाउँमा भएको क्षति भएको र पीडितलाई सघाउन सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै सोही दलका भीम आचार्यले सुनसरीको इनरुवा हुँदै भण्टाबारी जाने रेलमार्गका लागि तोकिएको मुअब्जा नपाउँदा स्थानीयवासी प्रभावित भएका बताएका छन् । त्यस्तै सांसद महेश बर्तौलाले मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट विनियोजन हुनुपर्ने माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का माधव सापकोटाले वर्षायाम सुरु हुन लागेकाले तातोपानी नाका स्तरोन्नतिका लागि चीनसँग भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका छन् । त्यसैगरी नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन् । निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनमा पनि समस्या देखिएको उनको निष्कर्ष थियो । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको बताएका छन् । उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने पनि उल्लेख गरेका छन् ।









