
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योग पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योग धराशायी भएको बताउँदै ती उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकामा जोड दिएका छन् । प्रधानमन्त्रीले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योग पुनःसञ्चालन गर्ने नीतिमा राज्यका सबै निकाय प्रष्ट हुनुपर्ने बताएका छन् । यसैबीच परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुराउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो टुङ्गोमा पुर्याएर राष्ट्रिय सहमतिका साथ समग्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । मुलुकमा दिगो शान्ति स्थापनाका लागि शान्ति प्रक्रियालाई अल्झाइराख्न नहुने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई अधिकारमा मात्रै समिति नराखी यसका आधारमा मुलुकमा आार्थिक विकास र समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्ने बताएका छन् । व्यवस्था परिवर्तनका साथै जनतामा परिवर्तनको महसुस हुनेगरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले समाजवाद उन्मुख समावेशी विशेषतालाई स्थापित गर्न सबै दलहरू गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । त्यसैगरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालमा एमाले एक्लैले बहुमत ल्याउने गरी ‘मिसन ०८४’ को अभियानमा होमिएको बताएका छन् । कौशलटारमा एमाले भक्तपुरको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताएका छन् । उनले एमाले स्वार्थको पछि नलागी देश र जनताको हितमा लाग्ने पार्टी भएको जिकीर गरेका छन् । अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निणर्ायक तहमा पुर्याउन खोजेको बताएका छन् । पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नरहेको बताउँदै उनले जीवन्त छलफल र विचार विमर्श गर्नलाई भने ठाउँ रहेको उल्लेख गरेका छन् । पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने बताउँदै ओलीले पार्टी एकताकै कारण पार्टी सिध्याउँछु भन्नेहरू असफल भएको उल्लेख गरेका छन् ।









