
काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ । सभाको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरेका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निणर्यार्थ प्रस्तुत गर्नुभएको थियो । सांसदहरू सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा अमरेसकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए । यसैबीच नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई सतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्ने बताएका हुन् । उनले बजेटलाई शत प्रतिशत कार्यान्वनय गर्न सरकारले आफ्नो सामथ्र्य देखाउनुपर्ने बताएका छन् । बजेटमा थप आएका सुझावहरुलाई आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडी बढ्ने उनको भनाइ छ । त्यसैगरी राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको जनाएको छ । आयोगले शैक्षिक सत्र २०८१/०८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो । स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको छ । त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ । यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क ७ लाख ७७ हजार तोकिएको छ ।









