
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सङ्घीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे उनले जानकारी लिएका हुन् । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करका अनुसार सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका छन् । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यसप्रकारको बैठक बोलाएका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । आइतबार ११ः३० बजे सुरु भएको बैठक साँझ ५ः३० बजेसम्म चलेको थियो । प्रधानमन्त्री ओलीले उक्त प्रस्तुतिकरणमाथि आगामी मङ्गलबारको बैठकमा विशेष निर्देशन दिने कार्यक्रम तय भएको जनाइएको छ । त्यसैगरी सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुई करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो । विशेष अदालतको उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए । अदालतले भ्रष्टाचारकै मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाइ दिएको छ । यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने वातारण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफुमा रहेको बताएका छन् । अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा शुरुदेखि उनले उठाएको जिकिर गरेका छन् । हरेक ६/६ महिनामा भईरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उनको भनाई छ । कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कतैपनि गल्ती गर्ने छुट नभएको भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर सम्म लैजाने बताएका छन् । कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर बिरोध गर्नुपर्ने पनि उनले बताएका छन् ।









