
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेल र उनकी श्रीमती सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरेका थिए । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन बिहीबार साँझ तराई-मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा. चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कणर्ाली र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ । पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको प्रवक्ता झाले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने तयारी गरेको छ । राप्रपाले सांसददेखि पदाधिकारीसम्मका नेताहरुलाई उपनिर्वाचनको जिम्मेवारी दिएको छ । राप्रपाले भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर र धर्मराज जोशीलाई चुनावी कमान्डर बनाइएको छ । राप्रपाले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रूब महर्जनलाई उम्मेदवार बनाउने निणर्य गरिसकेको छ भने अन्य ठाउका उम्मेदवार केहि दिनमै तय गर्ने बताएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि उम्मेदवार टुङ्गो लगाएको छ । त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को रिक्त वडाध्यक्ष पदका लागि पार्टीले उम्मेदवार टुङ्गो लगाएर अनुमोदन गर्न प्रदेश कमिटी पठाएको जनाएको छ । पार्टी त्रियुगा नगर कमिटी इन्चार्ज बिमल किरातीले त्रियुगा १२ मा नवीनकुमार राईलाई उम्मेदवार बनाउने निणर्य गर्दै एकल नाम माथिल्लो कमिटीमा सिफारिस गरेको बताएका छन् । आगामी मंसिर १६ गते देशका विभिन्न ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख १, उपमेयर १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।









