
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्व राख्ने खालका सम्झौता भएको बताएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूणर् निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’ समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताएका छन् । प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीनजस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धिगरी समृद्धिको यात्रामा अगाडि बढिरहेका सन्दर्भमा सन् २०२५ मा धेरै ठूलो संख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिएका छन् । उनले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको जनाएका छन् । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित शिक्षा नीति बहसलाई सम्बोधन गर्दै देउवाले शिक्षा क्षेत्रलाई थप बलियो बनाउनका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका हुन् । उनले उच्च शिक्षा हासिलका लागि विदेशिनुपर्ने अवस्थालाई रोक्नका लागि नेपालमा नै उच्च शिक्षाको गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् । देउवाले स्वदेशी मात्रै नभइ विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा आएर शिक्षा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका छन् । उनले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन र शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नका लागि पाठ्यक्रममा आवश्यक सुधार गर्नुपर्ने धारणा राखेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताएका छन् । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूणर्ता दिइने उनले बताएका छन् । नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय हको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेकोसमेत दाबी गरेका छन् । नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उनले जनताकोतर्फबाट यति धेरै सङ्गठित र व्यवस्थित रुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट पारेका छन् ।









