
काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ एयरपोर्ट राडरस्थित सडकमा बा.३१ प २५३७ नम्बरको मोटरसाइकल बीएबी ५१२४ नम्बरको कारसँग ठक्कर खाई दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-३ घर भएका ४२ वर्षीय नोर्बे लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर, बकैया गाउँपालिका-५ झाक्रीडाँडा नजिक सडकमा ना.८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका ४५ वर्षीय सानु लो तामाङको मृत्यु भएको छ । नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-३ कालिगण्डकी करिडोरमा रामपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको ग.१६ प १६६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक तनहुँ ऋसिङ्ग गाउँपालिका-४ बस्ने ३० वर्षीय सोम कुमार श्रेष्ठको मृत्यु भएको छ । राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।









