
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने ४६ वर्षीय मन्जित चित्रकारलाई प्रहरीले पक्राउ गरेको छ । मन्जितले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । यसैगरी कैलाली, भजनी नगरपालिका-३ मोरीयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित लम्कीचुहा नगरपालिका-९ प्रतापपुर बस्ने ३५ वर्षीय साजिश चौधरीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ५९७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।









