
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्दै उनले नेपाल कला, संस्कृति र परम्पराका हिसाबले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरुक हुनुपर्ने बताएका हुन् । महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक रहेको देखाएको उनले बताएका छन् । देशमा प्रजातान्त्रिक व्यवस्था आइसकेपछि बहुजातिय, बहुभाषिक, बहुधार्मिक नेपाली समाजमा रहेका सबै धर्म, भाष, संस्कृतिले स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित राख्दै अझ समृद्ध गर्न पाएको पनि बताएका छन् । महोत्सवमा गुरुङ समुदायको उपस्थिती, कला, संस्कृति, परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरुक देखिएको भन्दै उनले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकोमा बधाई ज्ञापन गरेका छन् । राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन सबैले आफ्नो शक्ति लगाउन पनि उपप्रधानमन्त्री सिंहले आग्रह गरेका छन् । गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने तमु ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा महोत्सवमा आयोजना गरिएको थियो । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गरेका हुन् । आफ्नो पार्टीले भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताएका छन् । देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै उहाँले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएकोसमेत बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शेरा दरबार प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर प्रचार गर्नुको कुनै आधार नभएको जिकीर गरेका छन् । एक प्रेस नोटमार्फत उनले यस्तो जिकीर गरेका हुन्. ‘केही सञ्चारमाध्यममा प्रकाशित नुवाकोटको ’शेरा दरबार’ जग्गा प्रकरणमा हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको नाम जोडेर भइरहेको प्रचारबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन,’ उनले भनेका छन् ।









