
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले त्यस्तो निर्देशन दिएका थिए । वर्तमान अवस्थामा सेवा प्रवाहलाई चुस्तदुरुस्त एवम् छिटो छरितो र प्रभावकारी बनाउनका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब तदर्थवादी ढंगले चल्ने स्थिति नरहेको बताएका छन् । सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक योग्य जनशक्ति र प्राविधिक सक्षमता विकसित गर्दै जानसमेत उनले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने अर्थमन्त्रीको भनाइ छ । कार्यक्रममा सहभागी निकायका अधिकारीहरूले आ–आफ्नो निकायमा सञ्चालनमा रहेका सूचना प्रविधि सम्बन्धी प्रणालीहरूको आवधिकरुपमा सेक्युरिटी अडिट गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ब्याकअप क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए । साथै सूचनाप्रविधिको प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै जाने तर त्यस्ता जनशक्तिलाई संस्थाभित्र टिकाई राख्न न्यून सेवासुविधाका कारण चूनौतीपूर्ण रहेको बताएका थिए । यसैबीच सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) भित्र उपभोक्ता अधिकार सम्बन्धी मुद्दा हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार उपभोक्ता अदालतको मुकाम काठमाडौंमा रहनेछ । यसले उपत्यकाभित्र उपभोक्ता हकहितसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ गर्नेछ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताएका छन् । पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताएका छन् ।









