
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारुकता आवश्यक भएको बताएका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुने बताएका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरेका छन् । आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास लिएको उनले बताएका छन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रम फैलाउनेहरूलाई नियन्त्रण गर्न आमसञ्चार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । विराटनगरमा प्रेस चौतारी नेपालको १०औं महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले पुनः लोकतन्त्र मासिए सबैभन्दा बढी प्रहार र दुःख सञ्चारमाध्यमले भोग्नुपर्ने बताउँदै तथ्यमा आधारित भएर सामाजिक सञ्जालमा भइरहेको प्रविधिको दुरुपयोग नियन्त्रण गर्नुपर्ने बताएका छन् । उनले कुनै पनि हालतमा राजतन्त्र ब्यूँताउन सम्भव नभएको स्पष्ट पार्दै गणतान्त्रिक सोच भएका जनताले कदापि नस्वीकार्ने बताएका छन् । महासचिव पोखरेलले पछिल्लो समय जनतामा देखिएको निराशा अन्त्य गर्न छलफल गरिनुपर्ने बताएका छन् । राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेको बताउँदै उनले राजनीतिक स्थायित्व हुनुपर्ने बताएका छन् । त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई गणेशमान सिंहको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् । त्यसअघि उनले अव्यवस्थित बस्ती हटाउने लगायतका कुरा सधैँ कुरामा मात्रै सीमित रहेको गुनासो गरेका छन् । ‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ?,’ उनले लेखेका छन् । यसअघि मन्त्री सिंहले बालेनले स्टाटसमा उल्लेख गरेका विषयहरूका बारेमा व्यवस्थित ढङ्गबाट काम गर्ने बताएका थिए ।









