
काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले बैठक अवरोध गरेका थिए । त्यसपछि सूचना टाँस गरेर ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । ३ बजेपछि फेरि बैठक सुरु भए पनि विपक्षीको अवरोध कायमै रहेको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालका लागि सहयोग गर्न आह्वान गरे पनि विपक्षी दलहरू आफ्नो मागमा अडिग रहे र नारावाजी गरिरहेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् । बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नसक्ने स्पष्ट पारेका छन् । विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहजरूपमा लिनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर गरेका छन् । प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रधानमन्त्रीसँग सहमति भएपछि आफू हिंडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको बताएका छन् । तर संक्रमणकालीन न्यायसम्बन्धी छलफलपछि कुलमानका विषयमा निर्णय गरेर प्रधानमन्त्रीले जालझेल गरेको आफूलाई महसुस भएको उनले गुनासो गरेका छन् । उनले संक्रमणकालीन न्यायसँग कुलमान साट्यो भनेर भ्रम फैलाइएको प्रति आफू दुःखित भएको बताएका छन् । त्यसैगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन माओवादीले शहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरुको अहिलेको बाटो त्यस्तै भएको जिकिर गरेका छन् । उनले राजावादीहरुले अगाडि सारेको पश्चगामी मुद्दाहरु सफल हुन नसक्ने बताएका छन् । आगामी दिनहरुमा राजावादीहरु अवाञ्छित क्रियाकलापमा लाग्ने भन्दै उहाँले त्यस्ता गतिविधिमा लाग्नेहरुलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने बताएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुरमुराउनु पर्ने अवस्था सिर्जना भएको जिकिर गरेका छन् ।









