
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका छन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका छन् । मुलुकमा प्रकट भएका गम्भीर विषयलाई सदनमा गम्भीर रुपमा छलफल गरेर पूर्वराजालाई कारवाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनले बताएका छन् । उनले एउटा कर्मचारीका बारेमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री तयार भएपनि सदन अवरुद्ध गरेर प्रतिस्थापन विधेयक पारित नगर्ने दाउपेजमा माओवादी रहेको तर्क गरेका छन् । उनले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुन बमोजिम कारवाही गर्नुपर्ने जिकीर गरेका छन् । यसैबीच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्र पुनर्स्थापना प्रयासलाई ‘मसानघाटबाट मुर्दा ब्युँताउने कोसिसको’ संज्ञा दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा राजतन्त्र फेरि कहिल्यै शासनसत्तामा नआउने ठोकुवा गरेका छन् । मन्त्री पौडेलले राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न उठाएका कारण नेपाली समाजबाट सधैंका लागि विदा भइसकेको बताएका छन् । उनले गणतन्त्रवादी दलहरूलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभिभारा रहेको बताएका छन् । उनले राजनीतिक दलहरूले जनताका आकांक्षा सम्बोधन गरी विभेद र असमानता हटाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रवि लामिछाने फर्किने भएका छन् । सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन् । सहकारी प्रकरणमा पक्राउ परेपछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यबहाक सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका थिए । सोमबार देखि सुरु हुने बैठकको अध्यक्षता लामिछानेले गर्ने गरी बैठकको एजेन्डा तय गरिएको बताइएको छ ।









