
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको सफल यात्रा तय गरेको उल्लेख गरेका हुन् । नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको पूर्ण सुनिश्चितता गरेको उल्लेख गर्दै सभामुखले राष्ट्रका उच्च पदहरूदेखि नीति निर्माण तहसम्म लैंगिक तथा जातीय समावेशिताको ग्यारेन्टी गरिएको तथ्य प्रस्तुत गरेका छन् । विशेषगरी राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट चयन गर्नुपर्ने संवैधानिक प्रावधान र संसदका दुबै सदनको नेतृत्व फरक लिङ्ग तथा राजनीतिक दलबाट हुने व्यवस्था उदाहरणीय भएको उनको भनाइ छ । सभामुखले संसदमार्फत महिला, युवा, आदिवासी, जनजाति तथा पछाडि पारिएका वर्गहरूको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै संसदीय खुलापन प्रवद्र्धन गर्ने अभ्यासलाई नेपालको एक महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । जलवायु परिवर्तनलाई नेपालको लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा रहेको बताउँदै सभामुखले प्राकृतिक विपत्तिहरूले वार्षिक लाखौँ नागरिकको जीवन प्रभावित भइरहेको बताएका छन् । उनले जलवायु न्याय सुनिश्चित गर्न हरित ऊर्जा प्रवद्र्धन, जलवायु अनुकूलन नीतिहरू र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा नेपालले खेलेको भूमिकाको पुनः स्मरण गराएका छन् । आगामी मे १६–१८ मा नेपालमा “सगरमाथा संवाद” आयोजना हुने जानकारी दिँदै उनले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय बहस अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन् । त्यसैगरी गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ । काठमाडौंको शान्तिबाटीकामा सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको सुरुवात गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् । २४० वर्षको राजतन्त्रमा जनताले दुख पाएको र देश विकास हुन नसकेको उनको भनाई छ । उनले गणतन्त्रको नाममा सत्तामा बस्नेले लुट्ने काम गरेकाले जनतामा केही असन्तुष्टि देखिएको बताएका छन् । केसीले गल्ती गरेकै कारण सत्तामा रहेका दलका नेताहरुमाथि पनि कारबाही भएको जिकिर गरेका छन् । उनले मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएकाले संघर्ष गरेर नै मुलुकको राष्ट्रियता रक्षा गर्न सकिने बताएका छन् । चैत्र ३० गतेसम्म हुने राजधानी केन्द्रित आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने जनमोर्चाले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालगञ्जमा बीपी कोइरालाको सालिकमा मोसो दलिएको घटनाप्रति आपत्ति जनाएका छन् । सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण गर्दै कोइरालाले त्यसलाई अराजनीतिक कार्य भन्दै लोकतन्त्रवादीहरू यस्ता गतिविधिहरूबाट विचलित हुन नहुने बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित राजावादी समूहले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा रहेको बीपी कोइरालाको शालिकमा मोसो दलिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको रहेको छ ।









