
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका छन् । आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरुले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरू प्रशंसनीय रहेको बताएका छन् । यसैबीच गृहमन्त्री रमेश लेखकले असल व्यवहार गरेर सेवा प्रवाह सुधार गर्न निर्देशन दिएका छन् । मुलुकभरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरुसितको भर्जुवल बैठकमा बोल्दै मन्त्री लेखकले सेवा प्रवाहसित असल व्यवहार, बानी र बचनसित जोडिएको धारणा राखेका छन् । उनले सिमित स्रोतसाधन, जनशक्ति र भौतिक पुर्वाधारको अभावका बिच पनि काम गर्नुपरेको बताएका छन् । कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उनले सेवा प्रवाह सुधारका साथै हेल्प डेष्क र टोकन प्रणाली लागू गर्नमा पनि जोड दिन सुझाव दिएका छन् । सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनु आजको आवश्यकता रहेको मन्त्री लेखकको भनाई थियो । त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले तत्कालीन सहमति तोडेको बताएका छन् । ‘नागरिक फ्रन्टलाइन’मा बोल्दै गुरुङले यस्तो टिप्पणी गरेका हुन् । राजाले व्यापार गर्न पाउने, अरु नागरिकले झैँ अधिकार पाउने, नागार्जुनमा बस्ने, पूर्वराष्ट्रपतिभन्दा अलिक माथिको सुविधा राज्यले दिनेलगायतका सहमति भएको भए पनि अहिले उनले त्यो तोडेको बताएका छन् ।









