
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विषयमा आफूले यसअघि दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । विपि स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले योगी आदित्यनाथ नेपाली दूतावास पुगेर आफू राजसंस्थाको पक्षमा नरहेको बताएको भन्ने आफ्नै अभिव्यक्तिको खण्डन गरेका हुन् । केही दिनअघि आफूले गलत सूचनाको आधारमा आदित्यनाथका बारेमा बोलेको भन्दै उनले आदित्यनाथ दिल्लीको दूतावासमा पुगेको नभइ नेपाली राजदूतले आदित्यनाथलाई भेट्न जाँदा राजाको पक्षमा नरहेको बताएको स्पष्ट पारेका छन् । त्यस्तै उनले विपिको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको बदनाम हुने काम नगर्ने विश्वास व्यक्त गरेका छन् । उनले सहकारी अस्पतालले समेत राष्ट्रका लागि राम्रो काम गर्ने जिकिर गरेका छन् । यसैबीच प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वबिना नेपालको समृद्धिको सपना पूरा नहुने बताएका छन् । झापाको दमकमा आयोजित एमाले झापा जिल्ला कमिटीको जागरण सभालाई सम्बोधन गर्दै उनले एमालेविनाको नेपालको परिकल्पना गर्नेहरूको मनसाय देशको हितविपरीत भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले देशलाई स्थायित्व, विकास र सुशासनको बाटोमा लैजान एमालेको भूमिका अपरिहार्य रहेको जिकिर गरेका छन् । उनले विगतमा अस्थिरता र अराजकता फैलाउने तत्वहरूले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन् । आगामी बजेटमा कृषिको आधुनिकीकरण, उद्यमशीलता प्रवद्र्धन र निजी क्षेत्रको सहभागितालाई जोड दिइने उनले बताएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताएका छन् । संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यक छ भनेर भनिराख्दा अहिले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एउटा अभियान सुरु गरिएको उनले बताएका छन् । यस्तै, उनले जनतामा अहिले निकै ठूलो आक्रोस रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र देशको समृद्धिमा विकास गर्नुपर्ने बताएका छन् ।









