
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् । शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भएको उल्लेख गर्दै उनले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न मागसमेत गरेका छन् । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकका समस्या समाधान गर्ने भन्दा बल्झाउनेतिर लागेको आरोप लगाएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । दाहालले सर्वोच्च अदालतले शिक्षकका समस्या तीन दिनभित्र समाधान गरेर विद्यालय फर्किने वातावरण बनाऊ भनेर सरकारका नाममा आदेश गरेको पनि स्मरण गरेका छन् । त्यसैगरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षकहरूको आन्दोलनलाई गलत दिशातर्फ लैजानेगरी प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन् । बर्तौलाले प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको बताएका छन् । उनले शिक्षकहरूको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन शिक्षकहरूलाई अपिल समेत गरेका छन् । बानेश्वरमा भएको झडप दुखद भएकाले आगामी दिनमा यस्तो घटना दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने उनले बताएका छन् । बर्तौलाले संसद् र सांसदहरूलाई अनावश्यक दबाब दिएर कानुन बनायौँ भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई सुझाव दिएका छन् ।









