
काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले वर्तमान सरकारको औचित्य सकिएको टिप्पणी गरेका छन् । संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै खनालले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेस र एमालेले मिलेर पनि सकारात्मक निकास दिन नसक्ने हो भने सरकारको औचित्य सकिएको र नयाँ नेतृत्व स्थापना गर्नेगरी नयाँ जनमतमा जान हिम्मत गर्न आग्रह गरेका छन् । यसैबीच उच्च अदालत पाटन, हेटौँडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले रास्वपाका सभापति लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा सो आदेश गरेको हो । न्यायाधीश सेढाइँले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेका छन् । २०८१ माघ २४ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी माग गरेको थियो । सो आदेश बदरको माग गर्दै लामिछानेले उच्चमा निवेदन दिएका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३२ सिटको जादु चलाउने पक्षमा आफू नरहेको बताएका छन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि फकाउने पक्षमा आफू नरहेको प्रस्ट्याएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको मनबाट ढलिसकेको बताएका छन् । उनले माओवादीको ध्यान अहिले जनतामा भएको बताएका छन् । त्यसकै निम्ति मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रम पनि झारा टार्नेबाहेक केही नरहेको बताएका छन् । संसदमा पनि आफूले जनताको भावना पोखेको उनको भनाइ छ । उनले २०४७ पछि सार्वजनिक जिम्मेवारीमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गर्न माग गरेका छन् । प्रतिनिधिसभामा बोल्दै अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको न्यायिक छानबिन गर्ने विषय पनि नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताएका छन् ।









