
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए । यसैबीच आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितिमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारी अनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो । सोही अनुसार सुझाव दिनका लागि भन्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोजकत्वमा कार्य दल गठन गरेका हुन् । गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहट्टा, यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् । यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्राडा लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डीन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन् । कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्याङ्कन गर्ने कार्यादेश दिइएको छ । त्यसैगरी सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतको केन्द्रीय मन्त्रीले सहभागिता जनाउने भएका छन् । भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव नेपाल आउने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै सगरमाथा संवादमा आफू आउन नसक्ने बताएका थिए । हालै आयोजना भएको विमिस्टेक बैठकमा भएको साइडलाइन वार्तामा मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू नआउने बताएका थिए । प्रधानमन्त्री ओलीले पनि पत्रकार सम्मेलनमा कार्य व्यस्तताका कारण भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा आउन नसक्ने बताएका थिए । सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्दैछ । नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका विषयमा उक्त संवाद केन्द्रित हुने सरकारले जानकारी दिएको छ ।









