
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो । गभर्नर नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । सोही बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्त प्रक्रिया अगाडि बढेको थियो । त्यसलगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठक बसेको थियो । समितिको बैठकले पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । यसअघि गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो । यसैबीच नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले नेपाल शिक्षक संघ काठमाडौं महानगरका पदाधिकारी सँग भएको छलफलका क्रममा सरकारलाई सहमतिबाट पछि नहट्न आग्रह गरेका हुन् । शिक्षकहरूको एक महिने आन्दोलनको मर्मअनुसार सरकारले वैशाख १७ गते गरेको सहमति कार्यान्वयन गर्नुपर्नेमा महरको जोड थियो । शिक्षकलाई निश्चिन्त भएर परिवार पाल्न सक्ने र जीवनयापन गर्न सक्ने सेवासुविधा नदिएमा उनीहरूले चिन्ता बोकेर गुणस्तरीय शिक्षा दिन नसक्ने मानवीय मर्मलाई समेत बुझ्न उनले सरकारसँग आग्रह गरेका छन् । शिक्षकले आधारभूत कुरा पूर्तिका लागि पनि चिन्ताले थिचिनुपर्ने अवस्था भएमा गुणस्तरीय शिक्षा दिन नसक्ने भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने उनको धारणा छ । त्यसैगरी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रहरूमा दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनेको बताएकी छन् । चीनको सियान शहरमा भैरहेको गरिबी न्यूनीकरण र दिगो विकास सम्बन्धी सांघाई सहयोग मञ्चलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आधारभूत सेवाहरूमा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनिरहेको धारणा राखेकी हुन् । उपाध्यक्ष घिमिरेले क्षेत्रीय शान्ति, स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्याय प्रवद्र्धन गर्ने एक सशक्त बहुपक्षीय मञ्चको रुपमा सांघाई सहयोग संगठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै हाल संवादमा साझेदारको रुपमा रहेको नेपालले मञ्चका सिद्धान्त, उद्देश्य र कार्यसूचीलाई पूर्ण समर्थन गर्ने बताइन् । उनले गरिबी निवारण र दिगो विकासका लागि मञ्चले पुर्याएको योगदान, लिएको पहलकदमी र प्रवद्र्धन गरेको सहकार्यलाई नेपालले उच्च मूल्यांकन गरेको दोहोर्याइन् ।









