
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्दै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मानव तस्करीमा संलग्न गिरोहसँगको साँठगाँठको आशंकामा अनुसन्धान थालिएको आयोग स्रोतले जनाएको छ । छानबिनका क्रममा भट्टराईको मोबाइल फोन जफत गरिएको छ भने कार्यालयबाट केही महत्वपूर्ण कागजात पनि बरामद गरिएको छ । भिजिट भिसा सेटिङमार्फत अवैध रकम असुली भइरहेको सूचनाका आधारमा छापा मारिएको बताइएको छ । मन्त्रालयमा संलग्नताको जानकारी पुगेपछि उनलाई एक दिनअघि मात्र मन्त्रालय फिर्ता बोलाइएको थियो । भट्टराईमाथि यसअघि पनि स्थानीय विकास अधिकारीका रूपमा कार्यरत रहँदा भ्रष्टाचारको आरोप लागेको बताइएको छ । यसैबीच नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेइमानीको संज्ञा दिएका छन् । एमाले मुगुको प्रशिक्षणमा बोल्दै उनले नेपाली राजनीतिलाई अस्थिरतातर्फ लैजान प्रचण्डले विभिन्न बेइमानी गरेको आरोप लगाएका हुन् । उपमहासचिव ज्ञवालीले प्रचण्डले देशलाई अस्थिरतातिर धकेल्न खोज्दा कांग्रेस र एमालेको सहकार्यमा सरकार गठन भएको बताएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती कानुन विपरीत गरेको बताएका छन् । अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताएका छन् । उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको स्मरण गराएका छन् । गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान समेत नभएको उनको भनाइ छ । उनले नवनियुक्त गभर्नर पौडेलको पढाई कृषि विषयमा रहेको जिकीर गरेका छन् । यसैबीच प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् । हालै गठित समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीताकुमारी पौड्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्ले रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कुलपति ओलीले विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत गरी शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि गत वैशाख २ गते उपकुलपतिको जिम्मेवारी दिएका थिए ।









