
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किराँत समुदायको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू र आफ्नो पार्टी सधैँ साथमा रहेको बताएका छन् । उनले किराँत संस्कृति, सभ्यता र पहिचानको संरक्षण तथा प्रवद्र्धनका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । खोटाङको हलेसी तुवाचुङ क्षेत्रमा आयोजित किराँत समुदायको महान् पर्व साकेला उभौलीको अवसरमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै डा. कोइरालाले उक्त कुरा बताएका हुन् । नेता कोइरालाले संस्कृति र सभ्यतालाई जोगाउन नसके सभ्य समाज निर्माण हुन नसक्ने बताएका छन् । उनले हलेसी तुवाचुङ जस्ता पवित्र स्थलहरू किराँत मात्र नभई समग्र नेपालीकै संस्कृति र सभ्यताका उद्गमस्थल भएको चर्चा गरेका छन् । उनले हलेसी तुवाचुङ क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने र यसका लागि आवश्यक योजनाहरू अघि बढाउनुपर्नेमा जोड दिएका छन् । डा. कोइरालाले किराँत समुदायलाई ढुक्क भएर आफ्नो हकअधिकार र पहिचानको पक्षमा लाग्न आग्रह गर्दै नेपाली कांग्रेसले सधैँ सकारात्मक सहयोग गर्ने विश्वास दिलाएका छन् । यसैबीच पूर्व अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र आर्थिक क्षेत्रको ठुलो निकाय भएकोले बजेटले उत्साहित हुनु आफैँमा सकारात्मक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले बजेटका केही नीतिगत कुराहरु राम्रो भएपनि साररुपमा आलोचना आवश्यक रहेको बताएका छन् । उनले केही सुझाव र आलोचना स्वभाविक नै भएको उनको भनाइ छ । संरचना, अर्थतन्त्र विस्तार लगायतका विषयहरु विगतको निरन्तरता भएपनि सकारात्मक कुरालाई नकार्न भने नसकिने उनले बताएका छन् । सरकारले आर्थिक वृद्धिदर र जनताको जीवनमा पर्ने प्रभावका विषयमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन् । उनले आफ्नो लक्ष्य हासिल गर्न सफल हुने तर्फ ध्यान दिनु पर्ने सरकारको आवश्यकता रहेको उल्लेख गरेका छन् । निर्यात भन्दा आयात १० गुणा बढी रहेको अवस्थामा देशलाई बदल्नका लागि र सन्तुलनमा लैजानका लागि पनि सरकारले ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले बताएका छन् । त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठुला दलका ठुला नेताहरूले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सबै आन्दोलन रोकिने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहँदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठुला दलका ठुला नेताहरूले राजनीतिबाट विश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताएका हुन् । भ्रष्टाचार लगायत खराब काम भइरहेको भन्दै थापाले जनताले तेर्साएका प्रश्नहरूलाई नेतृत्व तहमा बसेकाहरूले गम्भीर रूपमा लिनुपर्ने जिकिर गरेका छन् । राजनीतिक दलहरूले आफूलाई फरक ठान्न सकेमात्रै विकृत गठबन्धनको राजनीति संस्कारलाई बाहिर निकाल्ने उनले बताएका छन् ।









