
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै, छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । अध्यक्ष दाहालले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याएका छन् । सो अवसरमा अध्यक्ष दाहालले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरेका छन् । यसैबीच परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेकी छन् । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभा अन्तर्गत आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व बजारबाट लाभ लिन आग्रह गरिन् । मन्त्री डा राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआइको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको बताइन् । उनले नेपालमा कृषि पेशा गर्ने व्यक्ति अर्थात् किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकुल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको बताइन् । उनले कृषिलाई मर्यादित र आकर्षक पेशा बनाउनुपर्ने धारणा पनि राखिन् । नेपालको ८३ प्रतिशत भूभाग पहाड वा हिमाली क्षेत्र रहेको र जहाँ अधिकांश जमिन स–साना टुक्रामा अवस्थित रहेकोले पनि कृषि कार्य अत्यन्त कठिन रहेको भए पनि यसलाई लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र र गरिबीसँग जोडिएको बताइन् । त्यसैगरी सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी क्षम्य नहुने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा पदीय दुरुपयोग गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताएका छन् । माथिल्लो सदनमा विधेयक पारित गर्न बाँकी रहेकाले यसअघि भएका सहमति अनुसार नै कार्यान्वयन हुनुपर्ने उनले बताएका छन् । सरकारमा नेपाली कांग्रेसको प्रभावकारी उपस्थितसँगै गठबन्धनको विकल्प नभएको उनको भनाइ छ । पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूको काममा सन्तोषजन नभएको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेको उनले बताएका छन् । संसदभित्र र बाहिर रहेका पार्टीका जिम्मेवार नेताहरूले नै अनुशासनभन्दा बाहिर गएर पार्टीको विपक्षमा अभिव्यक्ति दिने गरेको विषयमा पनि केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएको उनले बताएका छन् ।









