
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउने निर्वाचनको लडाइँ लड्नुपर्ने बताएका छन् । उनले विगतमा महिला, दलित, आदिवासी, उत्पीडितको निम्ति क्रान्तिको झन्डा उठाएको पनि स्मरण गरेका छन् । त्यसैगरी पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक विषयमा उच्चस्तरीय छलफल भएको छ । छलफलका लागि नेताहरू काठमाडौंको पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा भेला भएका हुन् । छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेल सहभागी थिए । प्रचण्डको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक परिदृश्य, वामपन्थी एकता तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भएको बताइएको छ । यसैबीच नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युवा कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन आग्रह गरेका छन् । गृह जिल्ला नुवाकोटका युवाहरूसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै महतले यस्तो बताएका हुन् । उनले यो भनाई विशेष गरी गृह जिल्लाका युवाहरूलाई लक्षित गरेका भनेका थिए । प्रतिपक्षले कांग्रेसविरुद्ध नचाहिँदो कुरा गरे त्यसको प्रतिवाद गर्न पनि उनले युवासँग आग्रह पनि गरेका छन् । त्यसैगरी उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका छन् । काठमाडौंमा आयोजित पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि विषयक कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि धेरै विकल्प भएपनि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका हुन् । अर्थमन्त्री पौडेलले पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने बताएका छन् । उनले पर्यटन क्षेत्रमा राज्यका तर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने उल्लेख गरेका छन् । बजेट निर्माण गर्दा पनि लगानी भित्र्याउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रित गरेको उनले बताएका छन् । अर्थमन्त्री पौडेलले राजनीतिक स्थायित्व कायम गर्दै मुलुकको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।









