
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगी–व्यवसायीहरूलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा कांग्रेस वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपति नै भएकाले केही समस्या भए समाधान गर्न आफूहरू तयार रहेको बताएका हुन् । उनले उद्योगी व्यवसायीहरूले आफैं पनि काम र मेहनत गर्नुपर्ने भन्दै सबै कुराको दोष सरकार र नेताको टाउकोमा मात्रै राख्न नपाइने जिकिर गरेका छन् । सभापति देउवाले कांग्रेस र एमालेबीच सरकार गठनका समयमा भएको सात बुँदे सहमतिको उद्देश्य नेपालको अर्थतन्त्र चलायमान गराउनु पनि रहेको बताएका छन् । गतवर्षको तुलनामा वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गएको उनको भनाइ छ । उनले सहकारीबाट ठगिएका बचतकर्ताको रकम यथाशिघ्र फिर्ता गराउनका लागि प्रभावकारी ढंगले लाग्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । यसैबीच नेकपा एकीकृत समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका विरुद्ध औचित्यपूर्ण ढंगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिएका छन् । उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समीक्षा भएको बताएका छन् । उनले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिटै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएका छन् । त्यस्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विविध कारणबस मोर्चाले अपेक्षा अनुसार गति लिन नसकेको भन्दै अब सक्रियताका साथ मोर्चालाई अघि बढाइने उल्लेख गरेका छन् । विगतमा भएका कमीकमजोरीहरूलाई सच्याएर अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताएका छन् । त्यसैगरी उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतामा भएको आस्था जोगाउन धार्मिक क्षेत्रहरूको संरक्षण गर्नुपर्ने बताएका छन् । भक्तपुरको कलममसीमा १३औँ नागपञ्चमी मेला तथा २७ फिट लामो कालिनागको विशेष रुद्री पूजा कार्यक्रममा उपप्रधानमन्त्री सिंहले धार्मिक क्षेत्रको संरक्षणमा जोड दिएका हुन् । चाँगुनारायण नगरपालिका ८ मा पर्ने कलममसीमा २७ फिट लामो कालिनागको मन्दिर छ । सोही स्थानमा श्री कलममसी कल्पेश्वर महादेव तथा कालिका देवी संरक्षण समाजले १०८ फिट उचाइको महादेवको मन्दिर बनाउँदैछ । उपप्रधानमन्त्री सिंहले समय लागे पनि सो मन्दिर छिटै निर्माण हुने विश्वास व्यक्त गर्दै त्यसका लागि आफूले सकेको सहयोग गर्ने आश्वासन दिएका छन् । उनले धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सके कलममसी क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्ने बताउँदै अहिले विभिन्न स्थानमा खडेरी परेको भन्दै त्यसबाट बचाउन वातावरण जोगाउनेतर्फ सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिरदेखि कल्पेश्वर क्षेत्रसम्म धार्मिक हिसाबले महत्वपूर्ण स्थल रहेको भन्दै यसलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्नेगरि आफूले काम गरिरहेको बताएका छन् ।









