
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील रहेको बताएका छन् । ३१औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि संविधानमै व्यवस्था गरिएको बताएका हुन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको उल्लेख गरेका छन् । सभापति देउवाले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको स्पष्ट पारेका छन् । उनले आदिवासी जनजाति संगठित रूपमा आफ्नो अधिकारका लागि अगाडि बढेको बताएका छन् । सभापति देउवाले राजनीतिकसँगै सामाजिक र आर्थिक विकासमा एकजुट भएर अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गरेका छन् । कांग्रेसले आदिवासी, जनजातिको परम्परा र वेशभूषालाई संरक्षण र संवद्र्धन गर्दै आइरहेको उनको भनाइ थियो । त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईको अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् । ३१ औँ विश्वआदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उनले धनी वा गरिब सबै देशले एआईबाट अधिकतम लाभ लिन सक्ने बताएका हुन् । मन्त्री गुरुङले अहिले विकासको हरेक प्रक्रियामा एआईको प्रयोग हुने गरेको उल्लेख गर्दै कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, पर्यटन, उद्योग र विपत्ति व्यवस्थापनको क्षेत्रमा प्रयोग बढाउने गरी काम भइरहेको पनि बताएका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपालले विद्युतमा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युतभार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको बताएका छन् ।









