
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले पूर्वाधारमा लगानी गर्न सञ्चित कोषबाट रकम जुटाउन नसकेको अवस्थामा वैकल्पिक रूपमा वित्त परिचालन गर्न सक्ने व्यवस्थाका लागि वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको बताएका छन् । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उक्त विधेयकमाथिको दफावार छलफलका क्रममा पौडेलले मुलुकका लागि फाइदाजनक रहेको विकासे आयोजनाहरूमा लगानी सुनिश्चित गर्ने विकल्पका रूपमा वैकल्पिक विकास वित्त परिचालनको अवधारणा ल्याएको बताएका हुन् । राज्यको सञ्चित कोषबाट रकम जुटाउन नसकी पूर्वाधार निर्माणमा भइरहेको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण हुने उनले बताएका छन् । उनले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ विधेयक ल्याइएकाले प्रतिफल दिने खालका आयोजनाहरूलाई प्राथमिकतामा राख्ने जिकिर गरेका छन् । पौडेलले आयोजनाको छनोटका सम्बन्धमा पनि विधेयकमा स्पष्ट व्यवस्था गरिएको जानकारी दिएका छन् । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले आयोजना गरेको कार्यक्रममा उनले समाज र संसारलाई परिवर्तन गर्न सक्ने क्षमता युवा नेतृत्वमा हुन सक्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री गुरुङले केही न केही परिवर्तन गरेर उत्कृष्ट नीतिमा देशलाई अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता भएको बताएका छन् । त्यसैगरी नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । नवनिर्वाचित अध्यक्ष ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएसँगै जिम्मेवारी सम्हालेका हुन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रमबीच ज्ञवालीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि ज्ञवालीले छलफलपछि प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारे खाका तयार गर्ने बताएका छन् । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरू उत्पादन गर्ने गरी प्रतिष्ठानले काम गर्ने उल्लेख गर्दै उनले प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने दाबी गरेका छन् । गत शुक्रबार भएको प्रतिष्ठानको ३१औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुँयाल, सचिवमा मधु तिमिल्सिना, कोषाध्यक्षमा सरोज दाहाल, सदस्यमा विदुरप्रसाद ढुङ्गाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईँ चयन भएका छन् ।









