
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएका हुन् । रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिँदै उनले कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव गर्न भनेका छन् । माटोको उर्वरता बचाउने गरी रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका तत्काल तयार गर्न र किसानलाई लाभ हुने गरी ठोस खाका बनाएर तीन दिनभित्र पेस गर्न उनको निर्देशन छ । यसैबीच राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार प्रतिनिधिसभा बैठकमै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था यथावत रहँदा उठेको विवादपछि उनले “नैतिकताको आधारमा” पद छाडेको बताएका छन् । संसदीय छानबिन समितिले उनको राजीनामा माग नगरे पनि, उनले स्वेच्छाले जिम्मेवारी त्यागेका हुन् । राजीनामा घोषणाका क्रममा खतिवडाले २६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)ले गरेको ऐतिहासिक सम्बोधनको स्मरण गरेका छन् । “आजभन्दा २६ वर्षअघि २०५६ चैत ३ गते किसुनजीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा रोस्ट्रममै भावुक हुँदै भन्नुभएको कुरा आज पनि कानमा गुञ्जिरहेजस्तो छ— देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी कहिले मुक्त हुने हो ? के प्रजातन्त्रको लडाइँको सार कुटिल राजनीतिको अन्त्य र पारदर्शिताको स्थापना होइन ?” खतिवडाले भनेका छन् । उनका अनुसार ‘कुलिङ अफ पिरियड’को प्रावधान राख्नुपर्नेमा आफू अगाडि बढेको तर अन्ततः सो व्यवस्था यथावत रहेपछि उल्टै आफू नै “दण्डित” भएको इतिहासमा लेखिनेछ । “यो विधेयकमा मेरो कुनै व्यक्तिगत स्वार्थ थिएन,” खतिवडाले भने, “मेरो उद्देश्य संवैधानिक संयन्त्रलाई निष्पक्ष र दर्बिलो बनाउनु मात्र थियो । राज्यको ठूलो लगानी भएका ती संस्थाहरू नियुक्तिका कारण विवादमा परिरहेका छन्, जसले प्रश्न र शंका जन्माइरहेको छ ।” खतिवडाको राजीनामासँगै समितिको नेतृत्व रिक्त भएको छ । त्यसैगरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशका युवा वर्ग देशको ठुलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन् । नेपालको जनसंख्याको ठुलो हिस्सा युवाहरूको रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठुलो योगदान गर्न सक्ने उनको भनाइ थियो । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिइन् । उनले देशका युवाहरूलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सिप सिकेर दक्ष बन्न सुझाव पनि दिइन् ।









