
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबिच कार्यसम्पादन करारमा हस्ताक्षर भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रशासन सचिव डिल्लीराम शर्मासँग एकवर्षे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो अवसरमा मन्त्री पौडेलले नीतिगत सुधारले मात्र पर्याप्त नहुने, त्यसको कार्यान्वयन तल्लो तहसम्म पुगेर नागरिकले अनुभूति गर्न पाउनुपर्नेमा जोड दिएका छन् । साथै, मन्त्रालयले अघि सारेका नीतिगत सुधारहरूलाई कार्यान्वयन गरी नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन मन्त्री पौडेलले सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै स्वास्थ्य सचिव डा. देवकोटाले मन्त्रीले औँल्याएका समस्या समाधानका लागि मन्त्रालयले ठोस कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैबीच नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन् । कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरेका हुन् । गल्ती गर्ने जो कोही कानुन र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षीविरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको बताएका छन् । आफ्नो दल सरकारमा हुँदा पनि आफूले विरोधीसँग प्रतिशोध साँध्न राज्य शक्तिको दुरुपयोग गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएको स्मरण पुनले गरेका छन् । पुनले सरकारमा बसेर एउटा गल्ती ढाक्न अर्को गल्ती गर्दै जाने प्रवृत्ति छाडेर सच्चिन काँग्रेस र एमालेलाई आग्रह गरेका छन् । माओवादी केन्द्र आफ्ना गल्तीहरूप्रति जनतासँग माफी माग्न तयार रहेको भन्दै पुनले विगतमा गल्ती सच्याउन तयार रहेको प्रतिबद्धता जनाएका छन् । त्यसैगरी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङघर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छन् । नेपाल महिला सङ्घद्वारा आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । मन्त्री डा राणाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवि सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाहरुको योगदानको स्मरण गर्दै उहाँहरु र अरु पनि महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट गरिन् । तर वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै संघर्ष गर्न बाँकी रहेको उनको तर्क थियो । वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसदमा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहहरुमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक हो भन्दै मन्त्री डा राणाले तर यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यवहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट गरिन् ।









