
काठमाडौं । सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन् । ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन् । मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताएका छन् । उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिएका छन् । मन्त्री घिसिङले सर्वोच्च अदालतको बनिरहेको नयाँ भवन चार–पाँच महिनाभित्र निर्माण सम्पन्न हुने भएकाले त्यहीँबाट पूर्ण सेवा सुरु हुने उल्लेख गरेका छन् । उनले आगजनीबाट ध्वस्त भएका र बिग्रिएका सामानहरूको छिटो मुचुल्का उठाएर व्यवस्थापन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् । यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले उपलब्ध स्रोतसाधनको अधितकम प्रयोग गरी शान्तिसुरक्षामा खटिन प्रहरीलाई निर्देशन दिएका छन । आन्दोलनकारीले जलाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत्त गौशालाको निरीक्षण पछि उनले विषम परिस्थितिमा शान्तिसुरक्षाको पुनर्स्थापनमा उच्च मनोबलका साथ खटिन आग्रह गरेका हुन् । अहिलेको अवस्थामा फरार कैदीहरूलाई पक्राउ गर्नु प्रहरीको दायित्व भएकाले त्यसमा लाग्न उनको जोड छ । कैदीहरूलाई उपस्थित हुन सूचना जारी गरिने र त्यसभित्र नआएमा पक्राउ अभियान चाल्न उनले निर्देशन दिएका छन् । सरकारको दायित्व निष्पक्ष र भयरहित चुनाव गराउनु भएकाले त्यसको तयारीमा लाग्न पनि उनले जोड दिएका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले असोज ३ गतेलाई ‘कालो दिन’ र ‘शोक दिवस’ मनाउने निर्णय गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको पार्टीको पदाधिकारी बैठकले संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको महामन्त्री सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् । ‘मधेस आन्दोलनको वीर शहीदहरूका सम्मान एवं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान–२०७२ मा संशोधनको माग गर्दै भएको ऐतिहासिक गौरवपूर्ण आन्दोलनमा असोज ३ कै दिन सहादत दिएको वीर सहिद सत्रोहन पटेलको स्मृतिमा असोज ३ लाई कालो दिनको रूपमा मनाउँदै आइरहेको विदितै छ,’ झाले फेसबुकमा लेखेका छन्, ‘तसर्थ जेन–जी आन्दोलन र मधेस आन्दोलन तथा अधिकार प्राप्तिको सम्पूर्ण आन्दोलनमा शहीदहरूको सम्मानमा आउँदो असोज ३ कालो दिनको शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।’









